निरन्तर अझै चुक्दैछ काँग्रेस

२०८१ पुष १६ गते मंगलवार
सारांश
  • काँग्रेस वर्तमानको दुःखद् राजनीतिक यथार्थलाई मनन गरेर, सिकेर सच्चिएर आउने संभावना अझै कहिं कतै देखिंदैन, मुलुकभरका निष्ठावान काँग्रेसजन र राष्ट्रप्रेमी जनताका लागि सबैभन्दा पीडाको विषय भएको छ ।

"सन्दर्भ: ४८ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस"

नेपालमा राजनीतिक दृष्टिले पौष महिनाको विशेष महत्व छ । यस महिनामा धेरै महत्वपूर्ण राजनीतिक पर्व वा दिवस परेका कारण विशेष महत्व रहेको हो । महिनाको पहिलो दिन १ पौष राजा महेन्द्रबाट सैनिक शक्तिको आडमा प्रजातान्त्रिक अधिकार खोसिएको दिन थियो । १४ पौष राजा बीरेन्द्रको जन्म–जयन्ती, १६ पौष ०३३ मा वि.पी कोइराला सहितका नेताहरू राष्ट्रका सामु राष्ट्रिय एकता र मेलमिलापको आह्वान गर्दै भारत निर्वासनलाई परित्याग गर्दै नेपाल फर्किएको दिन थियो भने २७ पौष राष्ट्रनिर्माता पृथ्विनारायण शाहको जन्मदिन, जुन दिनलाई राष्ट्रिय एकता दिवसको रूपमा मनाउने गरिएको छ ।

 

वर्तमान युवा पुस्ताका धेरैलाई १६ पौष र २७ पौषको फरक पनि थाह नहुन सक्छ । दुवै दिवसमा ‘राष्ट्रिय एकता’ शब्द प्रयोग भएकोले पनि अस्पष्ट हुन सक्छ । नेपाली काँग्रेस संस्थापक नेता बीपी कोइराला, गणेशमान सिंह लगायतका नेताहरूले राजनीतिक एवम् व्यक्तिगत जोखिम मोल्दै दुरगामी राजनीतिक निर्णय लिएको १६ पौषको ऐतिहासिक दिनलाई माओवादीसंग दिल्लीमा गएर १२ वुँदे साझा समझदारीमा हस्ताक्षर गरे यता स्वयम् नेपाली काँग्रेसले यो ऐतिहासिक दिनको मर्मलाई महत्व नदिएको, कथित अग्रगमानकारीहरूले संविधान निर्माणको क्रममा इतिहासलाई सराप्दै नेपाल एकिकरणको नेतृत्व गर्ने राष्ट्रनिर्माता पृथ्विनारायण शाहको योगदानको कदर नगरिएको र वर्षौं ‘पृथ्वि जयन्ती एवम् राष्ट्रिय एकता दिवस’ राष्ट्रिय पर्वको रूपमा मनाउन छोडिएकोले युवा पुस्ताले यी दिनलाई नचिन्नुलाई अन्यथा भन्न मिल्दैन ।

 

आज पौष १६ गते राष्ट्रिय एकता तथा मेलमिलाप दिवस भएकोले पौष महिनाका अन्य राजनीतिक प्रसङ्गमा थप चर्चा नगरी १६ पौषको राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको सेरोफेरोमा थोरै चर्चा गर्नु वाञ्छनीय हुन्छ ।

 

बीपी कोइरालाले आज भन्दा ४८ वर्ष अगाडि आजैका दिन, आफ्नो सम्मुख उपस्थित सबै खाले राजनीतिक एवम् व्यक्तिगत (संभावित मृत्युदण्ड वा फाँसी) जोखिमहरूलाई पर्वाह नगरी देशको अस्तित्व सङ्कटमा परेको महशुस गरी राष्ट्रियता र देशको अस्तित्वको लागि देशका सामु “राष्ट्रिय एकता र मेलमिलाप”को प्रस्ताव राख्दै आफ्ना राजनीतिक सहपाठी गणेशमान सिंहकासाथ दर्जनौं कार्यकर्ता सहित भारत स्वनिर्वासनको जीवनलाई परित्याग गर्दै स्वदेश फर्कनु भएको थियो । यस दिनलाई विगत देखि नै विशेष गरेर देशको सबैभन्दा पुरानो ऐतिहासिक प्रजातान्त्रिक दल नेपाली काङ्ग्रेसले राष्ट्रिय एकता र मेलमिलाप दिवसको रूपमा मनाउँदै आएको थियो ।

 

बीपीले हिन्दूस्थानमा वसेर दक्षिण एशिया सहित विश्व राजनीतिलाई गहिरोसँग अध्ययन गर्नुभएको थियो । बीपी सुन्दरीजल जेलमा रहँदै नेपालको उत्तरी छिमेकी स्वतन्त्र राष्ट्र तिब्बत चीनमा विलय भैसकेको थियो । वि.पी भारतमा नै निर्वासनमा रहेका बखत सानो हिमाली राष्ट्र सिक्किमलाई भारतले आफ्नो कब्जामा लिइसकेको थियो । अफगानिस्तान माथि सोभियत संघको हस्तक्षेप, तिनताका नै स्वतन्त्र देश इस्टटिमोर माथि इण्डोनेसियाको कब्जा आदि घटनाबाट साना राष्ट्रहरू माथि मडारिएको सङ्कट उहाँले देखिरहनु भएको थियो । त्यसबाट आफ्नो सुन्दर सानो हिमाली राष्ट्र नेपाल पनि अछुतो नहुने कुरालाई मनन् गरी नेपालको राष्ट्रियता माथि हुनसक्ने संभावित खतरालाई ख्याल गर्दै देशका सामु राष्ट्रिय एकता र मेलमिलापको आह्वान गर्दै स्वदेश फर्कने निर्णय गर्नु भएको थियो । १६ पौषको त्यो ऐतिहासिक दिन आजै हो ।

 

त्यस वेला बीपी कोइरालाले राख्नु भएको राष्ट्रिय एकता र मेलमिलापको प्रस्तावलाई तत्कालिन राजा देखि सबै राजनीतिक शक्तिले स्वीकार गरेको भए मुलुक आजको जस्तो गंभीर सङ्कटको मोडमा हुने थिएन । त्यस वेला देश प्रेमको भावनाबाट ओतप्रोत भएर राखिएको त्यो प्रस्तावलाई न त तत्कालिन राजाले स्वीकार गरे, न स्वयम् बीपी कोइरालाको पार्टी नेपाली काँग्रेसले इमान्दारिपूर्वक आत्मसात ग¥यो । त्यो प्रस्तावलाई अस्वीकार गरेकै परिणाम अन्ततः देशबाट राजसंस्थाको पतन भयो भने, इतिहासको त्यो गौरवशाली प्रजातान्त्रिक एवम् राष्ट्रवादी शक्ति नेपाली काँग्रेस पार्टी राष्ट्रिय संकटको यो घडिमा देशलाई राजनीतिक निकास दिएर राष्ट्रिय संकटबाट मुक्त गरी देशलाई बचाउन नेतृत्व दायी भूमिका खेल्न नसक्ने भएको छ । संसदमा सबै भन्दा ठुलो दल भएर पनि राष्ट्रिय राजनीतिको केन्द्रबाट टाढा भैरहेको छ, देशको राजनीति र प्रजातन्त्रलाई स्थायित्व दिन चुकिरहेको वा असफल भैरहेको छ ।

 

राजनेता बीपी कोइरालाले आफ्नो जीवन छँदै पार्टीका आफ्नै साथीहरूले आँफुलाई साथ नदिएको गुनासो वरोवर गर्नु भएको थियो । बीपी लाई जीवन छँदै साथ नदिएको पार्टीले जीवन पछि उहाँको विचारलाई किन पछ्याउँथ्यो ? सहजै अनुमान गर्न सकिन्छ ।

 

 बीपीको निधनको लगतै काँग्रेसले बीपीको विचार र भावना विपरित कम्युनिष्ट पार्टीहरूसंग सहकार्य वा गठवन्धन गर्न पुग्यो । जसको परिणाम आज देशमा प्रजातान्त्रिक शक्ति कमजोर र बामपन्थी शक्ति बलियो भएको छ ।

 

देशको आजको संकटपूर्ण राजनीतिक परिस्थिति र दिशाहिन नेपाली काँग्रसको निरिह अवस्थामा जननायक बीपी कोइरालालाई श्रद्धापूर्वक स्मरण गर्दै राष्ट्रिय एकता र मेलमिलाप दिवसको आजको दिनमा भन्नै पर्दछ, – पछिल्लो राजनीतिक कालखण्डमा नेपाली काँग्रेसको नेताहरूको चरम सक्तामोहले उग्र–कम्युनिष्टहरूसंगको अस्वाभाविक एवम् सिद्धान्तहिन निकटताले नेपाली काँग्रेस पार्टीको सैद्धान्तिक एवम् वैचारिक मौलिकता धुमिल भएको छ ।

मुलुकको लामो प्रजातान्त्रिक आन्दोलनबाट स्थापित एवम् आर्जित काँग्रेसको आफ्नै खालको गौरवशाली उच्च छवि, चरित्र वा कांग्रेसपनको साख समाप्त हुँदै गएको छ । विचार र सिद्धान्तले बीपी र वर्तमान नेपाली काँग्रेसको दुरी बढ्दै गएको छ । गणेशमान र किसुनजीसंगको नाता टाढिदै गएको छ र पार्टीको नेतृत्व सत्ता स्वार्थमा अन्धो भएको कारण पार्टी काँधमा कम्युनिष्टहरूको एजेण्डाको भारी बोकेर गन्तव्यहिन यात्रामा भौतारिन विवश भएको छ ।

 

बीपी कोइराला पछि आधुनिक नेपाली राजनीति मै नेपाली राष्ट्रियताको संवेदनशीलता र यसको चुरोलाई राम्रोसंग बुझेका महान प्रजातन्त्रवादी एवम राष्ट्रवादी नेता कृष्णप्रसाद भट्टराई हुन् भन्दा कसैले विमति राख्नु पदैन । भट्टराईले आफ्नो जीवन छँदै आँफै समेतले स्थापना गरेको र सिङ्गो राजनीतिक जीवन विताएको नेपाली काँग्रेस पार्टीबाट घोर पीडा र अपमान सहँदै दुःखकासाथ पार्टीबाट अलग भएको घोषणा गर्नुको कारण नै नेपाली काँग्रेसको वैचारिक विचलन नै थियो । 

 

राष्ट्रिय एकता र मेलमिलापको नीतिको भावना विपरित नेपाली काँग्रेसकोे महासमितिको वैठकले नाटकीय ढङ्गले निर्णय गरे पछि महासमितिको वैठकको समुद्घाटन सत्रमा उपस्थित रहनु भएका किसुनजीले सोही महासमिति वैठकलाई एउटा पत्र पठाएर पार्टीबाट अलग भएको घोषणा गर्नु नेपालको राजनीतिक इतिहास कै एउटा दुःखद् घटना थियो ।

 

लामो समयदेखि नेपाली काँग्रेसको नीति र नेतृत्वको खरावी कै कारण नेपाली राष्ट्रवाद र राष्ट्रप्रेमलाई आधार बनाएर प्रजातन्त्र प्राप्त गर्ने र प्रजातन्त्रलाई आधार बनाएर राष्ट्रियतालाई अझ बलियो बनाउने कांग्रेसको अभय इतिहास आज कुण्ठित पारिएको छ । कुनै बेला नेपालको आर्थिक, सामाजिक र कुटनीतिक लगायत प्रत्येक क्षेत्रमा नेतृत्वदायक अग्रगामी विचार संवाहन गर्ने त्यो गौरवशाली कांग्रेस आज कस्तो पक्ष र प्रवृत्तिको पृष्ठपोषक हुन पुगेको छ ? वर्तमान काँग्रेसजनले यसलाई बुझ्न ढिलो भएको छ ।

 

नेपाली कांग्रेसका वर्तमान युवापुस्ताले आफ्ना नेतृत्वका सामु यस प्रश्नको जवाफ माग्नु पर्ने हो तर दुर्भाग्यः नयाँ पुस्ता पनि आफ्नो औकात, क्षमता र राजनीति यथार्थको धरातललाई विर्सेर नेता कै सामु लम्पसार हुँदा पार्टीमा परिवर्तनको संभावनाको ढोका लगभग बन्द भएको छ । राष्ट्रियता, प्रजातन्त्र, समाजवाद सहित नेपाली कांग्रेसको आफ्नो स्थापनाकालीन सिद्धान्त (फाउण्डिङ्ग प्रिन्सिपल्स) आज कता हराएको छ ?, नेपाली काँग्रेस जस्तो महान प्रजतन्त्रवादी एवम् राष्ट्रवादी दलको आजको दुरावस्थाहरुको प्रमुख कारण के हो ? त्यसलाई खोज्ने तर्फ वर्तमान काँग्रेसको ध्यान कत्ति पनि गएको छैन ।

 

आतिवादी कम्युनिष्ट भन्दा बढि क्रान्तिकारी बन्ने बहानामा देश, देशको राष्ट्रियता, र राष्ट्रिय एकताको सुत्र बनेर रहेको नेपालको परंपरागत मौलिक धर्म–संस्कृति एवम् प्रजातान्त्रिक मूल्य मान्यता विपरित केही नेता विशेषको हठ र सक्ता स्वर्थमा सिङ्गो नेपाली काँग्रेस पार्टीलाई नै गलत बाटोमा हिडाएको परिणाम आज काँग्रेस काँग्रेस जस्तो छैन । पार्टी संगठन छ, कार्यकर्ताको भिड पनि छ, त्यो भिडमा वास्तविक काँग्रेस भने कता कता हराई रहेको छ ।

 

वि.पी, सुवर्ण शम्शेर, गणेशमान सिंह, किसुनजी, सूर्यप्रसाद जस्ता महान राष्ट्रवादी एवम् प्रजातन्त्रवादी नेताहरूले स्थापना गरेको इतिहासको त्यो गौरवशाली पार्टी आजको दयनीय अवस्थामा आइपुग्नुको प्रमुख कारण पछिल्ला दिनमा पार्टीले लिएको खराब नीति र यसको नेतृत्व सत्ताको सौदावाजीमा लागेर पार्टीको विचार आदर्श र निष्ठालाई पर्वाह गर्न छोडेको कारण आज काँग्रेसको प्रजातन्त्रप्रति अटुट आस्था र विश्वासको धार भुत्ते भएको छ र पार्टी संगठनको राष्ट्रवादसँगको नाता टुट्न पुगेको छ । जसले गर्दा आज काँग्रेस पार्टी काँग्रेस जस्तो छैन ।

 

राष्ट्रियता नेपाली कांग्रेसको स्थापनाकालिन सिद्धान्त हो, राष्ट्रियता कै लागि प्रजातन्त्रको लडाईं लडिएको हो  । कम्युनिष्टहरूको जस्तो केवल राजनीतिकवादको आवरणमा राष्ट्रियता र राष्ट्रिय भावलाई विर्सेर केवल प्रजातन्त्रको लागि मात्र काँग्रेसले क्रान्ति गर्न संभव छैन । प्रजातन्त्रको पहिलो र एउटा मात्र सैद्धान्तिक धार छ, त्यो धार भनेको राष्ट्रिय एकता र मेलमिलापको आधारमा राष्ट्र बलियो बनाउने नै हो । यो नीति नै राष्ट्रिय एकता र मेलमिलापको नीति हो । त्यो नै बी.पी. कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईको पनि नीति थियो, सुवर्ण शम्शेर र सूर्यप्रसादको पनि नीति थियो । हाम्रो मुलुक नेपालको यति लामो राजनीतिक इतिहासमा राष्ट्रिय एकताका हिमायती बी.पी. कोइरालालाई बिर्साउने अर्को व्यक्ति, तागत वा शक्ति नेपाली कांग्रेसमा मात्र होइन, सिंगो देशमा नै अर्को व्यक्ति अहिलेसम्म जन्मन सकेको छैन । त्यस्तो व्यक्ति जन्मन नसक्नु पनि देशको लागि दुर्भाग्यको विषय भएको छ ।

 

सत्ता स्वार्थमा राष्ट्रियताको भावनाबाट भड्किएका नेपाली कांग्रेसका केही वरिष्ठ नेताहरुले लज्जासपद तरिकाले बी.पी.ले राजनीति गरेको नेपालको कालखण्ड अर्कै थियो, अब समय परिवर्तन भइसक्यो भन्दै वीपीको विचार र चिन्तनलाई घोर अपव्याख्या गरिरहेका छन्, अपमान गरिहेका छन् र पार्टीलाई सिद्धान्तहिन सत्ताको खेलमा फसाएर र देशलाई निरन्तर  वामपन्थी भासमा धकेलिरहेका छन् ।

 

काँग्रेस वर्तमानको दुःखद् राजनीतिक यथार्थलाई मनन गरेर, सिकेर सच्चिएर आउने संभावना अझै कहिं कतै देखिंदैन, मुलुकभरका निष्ठावान काँग्रेसजन र राष्ट्रप्रेमी जनताका लागि सबैभन्दा पीडाको विषय भएको छ ।

 

वि.पी कोइरालाले त्यसै भन्नु भएको थिएन – “हाम्रो देश आज राष्ट्रिय संकटमा छ । यता केही वर्षदेखि यो संकट चर्किँदै गएको कुरा सबैले महसुस गरेकै हो । यसले गर्दा राष्ट्रिय अस्तित्व नै समाप्त हुने स्थिति आएको छ । ... हाम्रो विचारमा अस्तित्वको संकट आइपर्नुको मुख्य कारण राष्ट्रिय एकताको अभाव हो ।त्यसले गर्दा हाम्रो देशमा विदेशी तत्वहरु कुचक्र चलाउन र नेपाललाई अन्तर्राष्ट्रिय षड्यन्त्रको अखडा बनाउन सफल हुन थालेका छन् । 

 

सम्पूर्ण नेपाली जनताको सामूहिक प्रयासबाट हुने अभियानबाट मात्र राष्ट्रिय एकता स्थापित हुन्छ । त्यस्तो सामूहिक अभियानले नेपाली जनताको भावनात्मक एकताको संस्थागत आधार पनि तयार पार्छ । .........हिजोसम्म हाम्रो संघर्ष जनताको प्रजातान्त्रिक अधिकारसँग मात्र थियो । त्यसो हुनाले हामीले प्रजातान्त्रिक पक्षमा मात्र बढी जोड दियौं । आज यसमा एउटा नयाँ आयाम थपिएको छ । 

 

नेपाली कांग्रेसलाई आज दोहोरो जिम्मेवारी आइपरेको छ । त्यो दोस्रो जिम्मेवारी देशको अस्तित्वको रक्षा गर्ने हो । ...प्रत्येक राष्ट्रको इतिहासमा त्यसका बासिन्दाले आफ्नो ज्यानसमेत खतरामा हालेर राष्ट्रको अस्तित्वको रक्षा गर्नुपर्ने घडी पनि आउँछ । आज नेपालमा त्यस्तो घडी आएको छ भन्ने हामीलाई लाग्छ ।...यस राष्ट्रिय संकटका घडीमा हामी सबैले बितेका अप्रिय विवाद, अनुभव र मतभिन्नतालाई बिर्सेर, समाप्त गरेर एकताको सुत्रमा बाँधिनु पर्छ । हाम्रो कार्यक्रम ‘राष्ट्र रहेन भने हामी रहन्नौं’ भन्ने भावनाले प्रेरित हुनुपर्दछ ।” वि.पी कोइरालाको राष्ट्रिय एकता र मेलमिलापको आधारभुत सार भनेको यही हो ।

 

दुरदर्शी वि.पी कोइरालाले हामीबाट सदाका लागि बिदा हुनु भएको ४२ वर्षभन्दा बढि भैसकेको छ । उनकै अनुयायी र उत्तराधिकारीहरूले आफूखुशी गरेका कारण काँग्रेस मुलुकको सफल नेतृत्व गर्नबाट पुरै चुकेको छ । मूलुककोप्रति विगतमा नेपाली काँग्रेस पार्टी र यसका नेताहरूबाट भएको भुल र खेलबाडको मूल्याङ्कन इतिहासको कालखण्डमा हुने नै छ । 

 

तर वर्तमानको खाँचो भनेको नेपाली काँग्रेसले इतिहासमा गरेको भुललाई सच्याएर मुलुक र आमजनताले पुनः विश्वास र भरोसा गर्न सक्ने पार्टी बनाउने, जुन पार्टीको नेतृत्वमा मुलुक सुरक्षित रहन सक्छ र प्रजातन्त्र नेपाली जनताको संस्कार र पद्धति भएर रहन सक्छ । यसो गर्न हामीसंग समय अझै छ, तर यसका लागि नेपाली कांग्रेसको झण्डामा बी.पी.का विचारहरु फर्फराउनु पर्दछ, भट्टराई निष्ठा एवम् समर्पण र गणेशमान सिंहको त्याग र हठिपन हुनै पर्छ, सूर्यप्रसादको जस्तो राजनीतिक कुशलता र सुवर्ण शम्शेरको जस्तो त्याग देखिनु पर्छ । तर खोई आशा गर्ने ठाउँ !

 

आज वीपीको विचार र दर्शन, गणेशमान सिंहको निष्ठा र किसुनजीको लिगेसीको डोरीलाई समातेर नेपाली काँग्रेसको नेतृत्व सम्हाल्न पुगेको वर्तमान नेतृत्वले राष्ट्रिय एकता र मेलमिलाप नीति, वीपी कोइराला र किसुनजीको विचार एवम् भावना र गणेशमान सिंहको निष्ठाको भाव बमोजिम पार्टीलाई सहि मार्गबाट हिडाउने प्रयास गर्नुको बदला केवल सक्ता स्वार्थमा नै अल्झेर राष्ट्रियता, प्रजातान्त्रिक मूल्य मान्यताको सिद्धान्त विपरित अतिवादी कम्युनिष्टलाई काँधमा बोकेर हिड्नु देश, देशको राष्ट्रियता र स्वयम् काँग्रेसको हितमा छैन पछिल्ला राजनीतिक घटनाले हामीलाई स्पष्ट पारिसकेको छ । तथापि काँग्रेसको नेतृत्व ऐतिहासिक तथ्यबाट सिक्ने र राजनीतिक रोड करेक्सन गरेर अगाडी बढ्ने मुडमा अझै छैन । यो नै दुर्भाग्य हो ।

 

एउटा कुरा सबै बुझ्न के जरुरी छ भने, वि.पी कोइरालाले राखेको राष्ट्रिय एकता र मेलमिलाप नीतिको विपरित गएर काँग्रेसले गल्ती ग¥यो भनेर यसको आलोचना गरिरहँदा नेपाली काँग्रेसले प्रजातान्त्रिक आन्दोलन र शान्ति प्रक्रियाको नेतृत्व गरेको गलत थियो भन्न खोजेको होइन  । तर त्यस क्रममा संविधान निर्माणको क्रममा भने हाम्रा राजनीतिक नेताको उग्र राजनीतिक महत्वाकांक्षा कारण भने काँग्रेस पटक पटक चुकेको छ । त्यो गल्तीबाट सिकेर काँग्रेसले आँफुलाई करेक्सन गर्नै पर्छ । यसमा ढिला गर्न हुँदैन । ढिला गरे काँग्रसले भविष्यमा नसोचेको क्षति व्यहोर्नुपर्ने निश्चित छ ।

 

पार्टी संविधान संशोधनको गृहकार्यमा जुटेको भन्ने समाचार आइरहेको छ । यो विषय केवल सत्ता गठवन्धनको औचित्यलाई पुष्टि गर्नका लागि मात्र हो भने त्यस चर्चाको कुनै राजनीति महत्व रहने छैन । काँग्रेस इमान्दारिपूर्वक इतिहासबाट सिकेर देशलाई बचाउन, आफ्नै इतिहास र बीपी सहितका आफ्ना नेताहरूको विचारबाट सिकेर विशेष गरेर नेपाली राजनीतिका लागि बीपी कोइरालाले राख्नु भएको राष्ट्रिय एकता र मेलमिलाप नीति कै तहमा वसेर संविधान निर्माणका क्रममा भएका भुलहरूलाई करेक्सन गर्न आँटिलो निर्णय गर्न जरूरी छ । 

 

यसका लागि संविधान निर्माणका क्रममा जनतासंग कुनै सरोकार नराखी संघीयता, धर्मनिरपेक्षता, गणतन्त्र, निर्वाचन प्रणाली सहितका मुद्धामा खुल्ला भएर बहश गर्न, पुनर्विचार गर्न र एउटा सहमतिको वातावरण निर्माण गरेर गरेर अगाडी बढ्न हिम्तत गर्ने वेला भएको छ । यस तर्फ अनदेखा गरे वा ढिला गरे हामीलाई समयले पर्खने छैन । इतिहासले माफी दिने छैन । 
 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप लेखहरु